काठमाडौं । नेपालका चर्चित अन्तर्राष्ट्रिय शेफ सन्तोष शाह नेपाली परिकारलाई विश्वभर चिनाउने अग्रणी व्यक्तित्वका रूपमा स्थापित भएका छन्। सिराहा जिल्लाको कर्जन्हा गाउँमा सन् १९८५ नोभेम्बर ५ मा जन्मिएका शाहले अत्यन्तै संघर्षपूर्ण बाल्यकालबाट विश्वप्रसिद्ध शेफसम्मको यात्रा तय गरेका हुन्।
बाल्यकालमै पिताको निधन भएपछि उनले आमासँगै खेतबारीमा काम गर्ने, रोटी बेच्ने तथा दैनिक मजदुरी गरेर परिवारलाई साथ दिएका थिए। १४ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत पुगेका शाहले अहमदाबादस्थित एक पाँचतारे होटलमा भाँडा माझ्ने कामबाट आफ्नो करियर सुरु गरेका थिए। त्यहीँबाट पाककलाप्रतिको रुचि बढ्दै गएपछि उनले होटल तथा क्याटरिङ व्यवस्थापन अध्ययन गर्दै विभिन्न अन्तर्राष्ट्रिय परिकारमा दक्षता हासिल गरे।
पछि बेलायत पुगेका शाहले लन्डनका प्रतिष्ठित रेस्टुरेन्टहरूमा काम गर्दै Dishoom, Benares, Brasserie Blanc, The Cinnamon Club, Cinnamon Kitchen तथा The LaLiT London जस्ता चर्चित संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हाले।
सन् २०२० मा BBC MasterChef: The Professionals मा सहभागी भएपछि उनले नेपाली खानाको मौलिक स्वाद र संस्कृति विश्वसामु प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय चर्चा बटुले। फाइनलसम्म पुगेर उपविजेता बने पनि उनको प्रस्तुति विश्वभरका दर्शक र निर्णायकको प्रशंसाको केन्द्र बन्यो।
त्यसपछि सन् २०२१ मा आयोजित MasterChef: The Professionals Rematch मा उनले दशैं पर्वबाट प्रेरित १८ परिकारको शाकाहारी मेनु प्रस्तुत गर्दै विजेता बने। यो उपलब्धिले नेपाली पाककलालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको मानिन्छ।
शाहले सन् २०२२ मा “Ayla: A Feast of Nepali Dishes from Terai, Hills and Himalayas” नामक पुस्तक प्रकाशित गरेका छन्, जसमा नेपालको तराई, पहाड र हिमालका मौलिक परिकार तथा संस्कृतिलाई समेटिएको छ।
नेपालमा उनले मिथिला थाली रेस्टुरेन्टमार्फत स्थानीय तथा परम्परागत नेपाली परिकारको प्रवर्द्धन गर्दै एकल आमाहरूलाई रोजगारी, पाककला छात्रवृत्ति तथा स्थानीय खानाको संरक्षणमा योगदान दिइरहेका छन्। साथै, नेपाली मौलिक सामग्री र परिकारलाई विश्वबजारमा प्रवर्द्धन गर्न निरन्तर सक्रिय छन्।
संघर्ष, मेहनत र समर्पणका कारण सन्तोष शाह आज नेपाली पाककलाका विश्वव्यापी प्रतिनिधि बनेका छन्। उनको लक्ष्य लन्डनमा विश्वस्तरीय नेपाली फाइन डाइनिङ रेस्टुरेन्ट स्थापना गरी नेपाली स्वादलाई अझ उच्च अन्तर्राष्ट्रिय पहिचान दिलाउनु रहेको छ।
