
काठमाडौं । समस्याग्रस्त अवस्थामा रहेका सात वटा सहकारी संस्थाले १२२ जना बचतकर्ताको बचत रकम फिर्ता गरेका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार तीन वटा सहकारीले २३ जना बचतकर्ताको सम्पूर्ण बचत रकम फिर्ता गरेका छन्। पूर्ण बचत फिर्ता गर्ने सहकारीमा नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारी रहेका छन्।
त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ९९ जना बचतकर्तालाई आंशिक रकम फिर्ता गरेका छन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार बचतकर्तालाई फिर्ता गरिएको रकम समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको हो।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरेको जनाएको छ। आगामी दिनमा पनि बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी फिर्ता प्रक्रिया अघि बढाइने बताइएको छ।
समस्याग्रस्त सहकारी संस्थाहरूको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने कार्य निरन्तर जारी रहेको समितिले स्पष्ट पारेको छ।

