
मुस्ताङ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमका अनुसार यस अवधिमा सार्क राष्ट्रबाट दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रबाट २८ हजार २७५ जना पर्यटक मुस्ताङ पुगेका छन् ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म एक लाख ६१ हजार १४१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। गत वर्षको तुलनामा सन् २०२६ को पहिलो १० महिनामै पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले जानकारी दिए ।
एक्यापका अनुसार सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ प्रतिशतले बढेको छ। यसमा अधिकांश भारतीय पर्यटक रहेका छन्। मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको एक्यापको भनाइ छ ।
यद्यपि अन्य राष्ट्रबाट आउने पर्यटकको सङ्ख्यामा भने कमी आएको छ। सन् २०२५ मा २३ हजार ६०४ जना पर्यटक अन्य राष्ट्रबाट मुस्ताङ पुगेकामा यस वर्ष अक्टोबरसम्म २८ हजार २७५ जना पुगेको तथ्याङ्कमा उल्लेख छ ।
रसुवागढीमा आएको बाढी, जोमसोम–कोरला सडक अवरुद्ध, हवाई सेवा स्थगन तथा प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटनमा आंशिक असर परेको थियो। नोभेम्बर र डिसेम्बर दुई महिना बाँकी रहेकाले यस वर्ष पर्यटक आगमन गत वर्षभन्दा कम नहुने एक्याप प्रमुख गुप्तले बताएका छन् ।
मुस्ताङमा पर्यटक आगमन बढ्नुमा मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटक तथा राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ भित्रिने अन्य देशका पर्यटकको योगदान रहेको एक्यापले जनाएको छ ।

