
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङकी आशिका सिम्खडा, उदयपुरका विष्णु खत्री, सिन्धुलीका दिनेश पाख्रेन तामाङ र गोरखाका राजेश बराम रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत पठाइदिने भन्दै ७ लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै ६ लाख, तामाङले यूएई पठाइदिने भन्दै २ लाख र बरामले सिंगापुर पठाइदिने भन्दै १५ लाख ५० हजार रुपैयाँ लिएका थिए।
रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

