
काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
बिहीबार साँझ दुधिअवा–बालचनपुर सडकखण्डमा भएको दुर्घटनामा गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र उनकी ३० वर्षीया श्रीमती निशा खड्का घाइते भएका थिए।
दुवैलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले सुभाषलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

