
काठमाडौँ । सरकारले शिक्षा नियमावली, २०५९ को १०औँ संशोधन भएको चार महिनामै पुनः संशोधनको तयारी थालेको छ। गत असार २५ गते नियमावलीको १०औँ संशोधन गरिएको थियो।
१०औँ संशोधनमा समावेश विद्यालय व्यवस्थापन र शिक्षक सरुवालगायतका प्रावधानप्रति शिक्षक तथा सरोकारवालाले असन्तुष्टि जनाएपछि पुनः संशोधन गर्न लागिएको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
शिक्षक तथा सरोकारवालाबाट आएका सुझाव र गुनासालाई सम्बोधन गर्दै प्राविधिक समस्या समाधान गर्ने उद्देश्यले ११औँ संशोधनको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार दसैँअघि नै संशोधन प्रक्रिया टुङ्ग्याउने तयारी गरिएको थियो। तर, तयार भएको मस्यौदा हाल अर्थ मन्त्रालयमा अड्किएको छ।

