बिहिबार, कार्तिक १३, २०८३
नेपाल–भारत क्रस-बोर्डर टुरिजम कनेक्ट २०२६ सम्पन्न, पर्यटन सहकार्यका लागि NBTC स्थापना गर्ने घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA ICC) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा अक्टोबर २५ देखि २८, २०२६ (कात्तिक ८ देखि ११, २०८३) सम्म सञ्चालित नेपाल–भारत क्रस-बोर्डर टुरिजम कनेक्ट २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।

“Connecting Borders, Building Friendships, Growing Tourism” भन्ने मूल नाराका साथ आयोजित अभियानले नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक साझेदारी तथा जनस्तरको मित्रता विस्तारमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार, अभियानलाई सफल बनाउन नेपाल र भारतका पर्यटन व्यवसायी, सरकारी तथा निजी क्षेत्रका निकाय, आतिथ्य साझेदार, सञ्चारमाध्यम, स्वयंसेवक र विभिन्न संघसंस्थाले महत्त्वपूर्ण सहयोग गरेका थिए।

सापकोटाले समापन समारोहका प्रमुख अतिथि माननीय राजेन्द्र प्रजापति, उद्घाटन समारोहकी प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेल्बासे, NRNA ICC का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेर्चन, कार्यक्रम संयोजक लक्ष्मण थापा तथा भारतका पर्यटन क्षेत्रका प्रतिनिधिलगायत सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।

त्यसैगरी, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका राजेश सिन्हा, इन्डो–नेपाल टुरिजम सोसाइटीका डा. जे.पी. सिंह, भारतीय कन्टेन्ट क्रिएटर ऋषि अरोरा तथा नेपाल र भारतबाट सहभागी पर्यटन व्यवसायी र प्रतिनिधिहरूको सहभागिताले अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको उनले बताएका छन्।

अभियानलाई नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (HAN), पाटा नेपाल च्याप्टरलगायत पर्यटनसम्बन्धी सरकारी निकाय, प्रदेश तथा स्थानीय सरकार, पर्यटन संघसंस्था र निजी क्षेत्रका संस्थाहरूले सहयोग गरेका थिए। होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटन प्रतिष्ठानहरूले भारतीय प्रतिनिधिमण्डलको स्वागत, आवास, खानपान, गन्तव्य अवलोकन र व्यावसायिक अन्तरक्रियामा सहयोग पुर्‍याएका थिए।

यस अभियानको विशेष पक्ष सरकारी निकायबाट आर्थिक सहयोग नलिई निजी क्षेत्र, पर्यटन व्यवसायी, आतिथ्य साझेदार तथा सहयोगी संस्थाहरूको सहकार्य र योगदानमा कार्यक्रम सम्पन्न हुनु रहेको सापकोटाले बताएका छन्। सामूहिक प्रयास, आपसी समन्वय र साझेदारीमार्फत पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सकिने उदाहरण यस अभियानले प्रस्तुत गरेको उनको भनाइ छ।

नेपाल–भारत पर्यटन परिषद् स्थापना गर्ने घोषणा

अभियानको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपाल–भारत पर्यटन परिषद् (Nepal–Bharat Tourism Council—NBTC) स्थापना गर्ने घोषणा गरिएको छ। प्रस्तावित परिषद्ले दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन सहकार्य विस्तार, संयुक्त पर्यटन प्याकेज निर्माण, बीटुबी (B2B) नेटवर्किङ तथा पर्यटन गन्तव्यहरूको संयुक्त प्रचारप्रसारलाई संस्थागत बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच पर्यटनमार्फत मित्रता, आर्थिक समृद्धि र व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता आयोजक पक्षले व्यक्त गरेको छ।

सापकोटाले अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति, संस्था, पर्यटन व्यवसायी, सञ्चारकर्मी, स्वयंसेवक र शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नेपाल र भारतबीच पर्यटन सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: बिहिबार, कार्तिक १३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय