
गुल्मी । बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन आउने सेवाग्राहीको भीड बढेको छ।
सेवाग्राहीको चाप बढेपछि कार्यालयले जिल्ला निर्वाचन कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिनुभयो।
कार्यालयका अनुसार मङ्गलबार मात्रै १७० जनाले नागरिकता, २१० जनाले राष्ट्रिय परिचयपत्र, ९२ जनाले राहदानी र १७ जनाले नाबालक परिचयपत्र बनाएका छन्।
सेवा प्रवाहलाई सहज बनाउन कार्यालयले कर्मचारीलाई समयपछि पनि खटाएको छ भने केही फाँटमा टोकन प्रणाली लागू गरेको छ। सेवाग्राहीको चाप अझै बढेमा जिल्ला समन्वय समितिबाट समेत थप कर्मचारी परिचालन गरिने कार्यालयले जनाएको छ।

