
काठमाडौँ । कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन निर्देशन दिएको हो।
एकाइले चौबीसै घण्टा सम्पर्कमा रहने आपत्कालीन सम्पर्क व्यक्ति तोक्न, आकस्मिक चिकित्सकीय टोली तथा स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न र औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा एम्बुलेन्सको उपलब्धता सुनिश्चित गर्न भनेको छ।
त्यस्तै, प्रदेशका एम्बुलेन्स प्रेषण केन्द्रसँग समन्वय गरी विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटनाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन आग्रह गरिएको छ।

