
काठमाडौँ । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मन्त्रीले आफ्नो पदको सीमा नाघेको टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको मर्ममा असर पार्न सक्ने बताउनुभएको छ। उहाँले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको विषय बनाउन नहुने उल्लेख गर्नुभएको छ।
हमालले नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने बताउँदै कुनै पनि मन्त्री वा पदाधिकारीले व्यक्तिगत धारणा वा राजनीतिक स्वार्थका आधारमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिन नहुने धारणा राख्नुभएको छ।
नेपाल–भारत सम्बन्धको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक महत्त्वलाई स्वीकार गर्दै छिमेकीसँगको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उहाँले त्यस क्रममा नेपालको राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताउनुभएको छ।
छिमेकी राष्ट्रसँगको मित्रता र राष्ट्रिय सार्वभौमिकताको रक्षा एकअर्काका विरोधी नभई परिपूरक दायित्व भएको उल्लेख गर्दै हमालले नेपाली प्रतिनिधिहरूले राष्ट्रिय अडानलाई गरिमा, सन्तुलन र परिपक्वताका साथ प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

