
काठमाडौँ । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी गरेको छ।
आर्थिक वर्ष २०८३/०८४ को पहिलो चरणअन्तर्गत कात्तिक २ र ३ गते सञ्चालन हुने कार्यक्रम दसैँका कारण सारेर कात्तिक १७ र १८ गते गर्न लागिएको हो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
कार्यक्रमअन्तर्गत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको छ। विभागका अनुसार भिटामिन ‘ए’ सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ।

