
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ ।
प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागका अनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको हो । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा निर्यातबाट प्राप्त आम्दानी बढेको छ ।
गत वर्षको असोजमा भारततर्फ ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो । त्यसैगरी, चालु आर्थिक वर्षको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो । यस वर्षको असोजमा गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढीको विद्युत निर्यात भएको हो ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी पहिलो तीन महिनामा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत भारतमा द्विपक्षीय विद्युत बिक्री सम्झौताअन्तर्गत हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएको छ । बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमार्फत प्रतिस्पर्धी दरमा बिक्री गरिँदै आएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीबाट केही जलविद्युत आयोजनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिइएको छ । असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको उनले बताए ।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सुरु
भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुगेपछि विद्युत निर्यात रोकिएको थियो ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ ।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते पाँचवर्षीय विद्युत निर्यात सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिँदै आएको छ ।
विद्युत निर्यात क्षमता १ हजार १७९ मेगावाट
भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ विद्युत निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ ।
बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत निर्यात जारी राख्न सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनुले नेपालको क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

