बुधबार, कार्तिक १२, २०८३
५०० रुपैयाँ जडान शुल्क छुटदेखि १० जीबी दैनिक डाटासम्म, नेपाल टेलिकमको पर्व अफर सार्वजनिक

काठमाडौं । दसैँ, तिहार र छठ पर्वको अवसरमा नेपाल टेलिकमले इन्टरनेट तथा मोबाइल सेवा प्रयोगकर्ताका लागि विभिन्न सहुलियत घोषणा गरेको छ। ‘दसैँ–तिहार अफर, २०८३’ अन्तर्गत नयाँ इन्टरनेट जडानमा छुट, वार्षिक प्याकेजमा बोनस सेवा र मोबाइलमा विशेष डाटा, भ्वाइस तथा एसएमएस प्याकेज उपलब्ध हुनेछन्।

नयाँ एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क बचत गर्न सक्नेछन्। असोज २५ देखि कात्तिक ३० गतेसम्म जडान हुने नयाँ प्याकेजमा यो सुविधा लागू हुनेछ।

वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकका लागि पनि विशेष सुविधा छ। १००, १५० र २०० एमबीपीएस क्षमताका प्याकेजमा १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म सेवा लिन सकिनेछ। बोनस मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ। भर्चुअल सेटअप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुट दिइनेछ।

मोबाइल डाटा धेरै प्रयोग गर्ने ग्राहकका लागि ४९९ र ६९९ रुपैयाँका प्याकेज ल्याइएका छन्। ४९९ रुपैयाँको प्याकेजमा दैनिक पाँच जीबी र ६९९ रुपैयाँको प्रिमियम प्याकेजमा दैनिक १० जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ। दैनिक सीमा सकिएपछि पनि क्रमशः दुई र तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ।

फोन र सन्देश सेवामा पनि सहुलियत दिइएको छ। २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट तथा ९९ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिनेछ। यी प्याकेजको अवधि ३० दिनको हुनेछ।

मोबाइल अफर असोज ३० देखि कात्तिक ३० गतेसम्म उपलब्ध हुनेछ। ग्राहकले ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी प्याकेज खरिद गर्न सक्नेछन्।

पर्वका बेला सञ्चार सेवाको खर्च कम गर्न सहयोग पुग्ने अपेक्षासहित कम्पनीले यी सुविधा सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित: शनिबार, आश्विन २४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय