बुधबार, कार्तिक १२, २०८३
वर्षासँगै बीपी राजमार्गमा लेदो खस्यो, अवरोध हटेपछि यातायात सहज

काभ्रे । वर्षाका कारण बीपी राजमार्गमा खसेको लेदो माटो र गेग्रान हटाइएपछि यातायात पुनः सञ्चालनमा आएको छ।

रोशी गाउँपालिका–९, पिन्थलीबेँसी नजिकै आज लेदो र गेग्रान खस्दा राजमार्गमा आवागमन प्रभावित भएको थियो। मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार डोजर प्रयोग गरी सडकमा थुप्रिएको लेदो र गेग्रान हटाएपछि यातायात सञ्चालन गरिएको हो।

वर्षा अझै जारी रहेमा राजमार्गका अन्य स्थानमा समेत अवरोध आउन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित: शनिबार, आश्विन २४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय