
काठमाडौँ । दशैंमा घर फर्किने यात्रुलाई सहज बनाउन सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। बुकिङ सुरु हुनुअघि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको भीड बढेपछि टिकट व्यवस्थापनमा समेत ध्यान दिइएको छ।
लोत्से बहुउद्देश्यीय प्रालिले यात्रुको चाप व्यवस्थापन गर्न नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको जनाएको छ। यात्रुले सहज रूपमा टिकट प्राप्त गर्न सकून् भन्ने उद्देश्यले काउन्टर थप गर्नुका साथै आवश्यक सुरक्षा व्यवस्था पनि मिलाइएको कम्पनीले जानकारी दिएको छ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिबीच असोज २० गते भएको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आजदेखि टिकट बुकिङ सुरु गरिएको हो।

