
भक्तपुर । साइप्रस पठाइदिने भन्दै ९ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–३ का ३७ वर्षीय सरोज मल्ल रहेका छन्। उनले वैदेशिक रोजगारीमा आकर्षक तलब हुने प्रलोभन देखाउँदै एक जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएको बताइएको छ।
रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मल्ललाई पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

