मंगलबार, कार्तिक ११, २०८३
भोटेकोशी बाढीका पीडित परिवारको माग सम्बोधन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी दिवंगत तथा बेपत्ता भएका रसुवा भन्सारका कर्मचारीका परिवारले राखेका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

बिहीबार मन्त्रालयमा पीडित परिवारसँग सामूहिक भेट गर्दै उहाँले परिवारको पीडाप्रति संवेदना व्यक्त गर्दै अर्थ मन्त्रालय र भन्सार प्रशासन उनीहरूको साथमा रहेको बताउनुभयो।

परिवारका सदस्यहरूले तयार पारेको प्राथमिक तहको मागपत्र बुझ्दै मन्त्री वाग्लेले कानुनअनुसार पूरा गर्न सकिने विषयलाई छिटो कार्यान्वयन गर्ने र कानुन संशोधन आवश्यक पर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो।

उहाँले दिवंगत तथा बेपत्ता कर्मचारीका परिवारको शिक्षा, भरणपोषण र रोजगारीलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो। साथै, बालबालिकाका लागि छात्रवृत्ति र घटना दर्तालगायतका विषयमा पनि मन्त्रालयले काम गरिरहेको बताउनुभयो।

बेपत्ता कर्मचारीको खोजी कार्य जारी रहेको जनाउँदै उहाँले परिवारलाई आवश्यक सहयोग र सहजीकरणका लागि विशेष कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारी परेका थिए। भन्सार अधिकृत नकुल शर्माको शव भेटिएर अन्तिम संस्कार गरिएको छ भने अन्य १४ कर्मचारीको अवस्था अझै अज्ञात छ।

प्रकाशित: शुक्रबार, आश्विन १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय