
धनुषा । धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मिथिला नगरपालिका–३ लालभित्तिमा टिपर पल्टिँदा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक ३६ वर्षीय हरि महतोको मृत्यु भएको हो। बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपर पल्टिँदा गम्भीर घाइते भएका महतोको जानकी मेडिकल कलेज, रमदैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ गोदारका ३० वर्षीय हरि विक घाइते भएका छन्।
यसैबीच, क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको करेन्ट लागेर मृत्यु भएको छ। छिमेकीको घरमा पोल चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

