
काठमाडौँ । लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्घीय निजामती सेवा विधेयक संसद्मा पुगेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आज विधेयक संसद् सचिवालयमा दर्ता गरेकी हुन्।
मन्त्री रावलले विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा नयाँ परिवर्तन ल्याउने अपेक्षा गरिएको बताएकी छन्। उनले विधेयकले सार्वजनिक प्रशासनलाई थप सक्षम, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउन सहयोग पुग्ने उल्लेख गरिन्।
उनले आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सहकारीपीडितको बचत फिर्ता, भूमिहीनलाई लालपुर्जा वितरणमा तीव्रता, सङ्घीय निजामती सेवा विधेयकलाई निष्कर्षमा पुर्याउने र प्रशासन सुधारलाई प्राथमिकतामा राखेको बताइन्।
अब संसद्मा हुने छलफल तथा आवश्यक प्रक्रियापछि विधेयक पारित हुने र सार्वजनिक प्रशासन सुधारका लागि बलियो आधार तयार हुने अपेक्षा मन्त्री रावलले व्यक्त गरेकी छन्।

