
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको भेटमा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको हो।
मन्त्री पोखरेलको सचिवालयका अनुसार भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकासलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रुस सरकारले पुर्याउँदै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रुसबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रुस इच्छुक रहेको बताए। उनले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे।

