सोमबार, कार्तिक १०, २०८३
गुल्मीमा बाढी, पहिरो र हावाहुरीबाट ११ परिवार विस्थापित, तीन पशुचौपाया मरे

गुल्मी । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बाढी तथा पहिरोको जोखिममा परेका र घरको छानोमा क्षति पुगेका परिवारलाई प्रहरी तथा स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित लामाचौपारी क्षेत्रमा कालीगण्डकी नदीको बहाव बढेपछि नदी किनारमा पसल सञ्चालन गरी बस्दै आएका सात घरधुरीलाई आफन्तको घरमा सारिएको छ।

त्यस्तै, रेसुङ्गा नगरपालिका–४ सेउघामा घरमाथिबाट पहिरो खसेपछि दुई परिवार विस्थापित भएका छन्। मदाने गाउँपालिका–६ पुर्कोटदहमा हावाहुरी र वर्षाका कारण घरको टिनको छानो उडेपछि एक परिवार विस्थापित भएको छ।

चन्द्रकोट गाउँपालिका–४ रेमीमा गोठ भत्किँदा एक परिवार विस्थापित भएको छ। गोठभित्र बाँधिएका दुई पाडापाडी पुरिएर मरेका छन्। मुसिकोट नगरपालिका–१ पखेरामा पनि गोठ भत्किँदा एउटा माउ बाख्रा पुरिएर मरेको प्रहरीले जनाएको छ।

यसैबीच, कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजारस्थित तटीय क्षेत्रका उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धार तथा स्थानान्तरणमा खटिएको छ।

जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीलाई समेत जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: शनिबार, आश्विन १०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय