
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोल नारायणी नदीको बाढीले डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि बस्तीमा पानी पसेको थियो। आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।
उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका–५ मा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको थप उद्धार कार्य जारी रहेको छ।

