बुधबार, कार्तिक १२, २०८३
पृथ्वी र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा समय तोकेर सवारी सञ्चालन

हेटौँडा / अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालैपालो सवारीसाधन सञ्चालन गरिने भएको छ।

दुवै राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौँडातर्फ जाने सवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको हो।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार आज हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र काठमाडौँबाट हेटौँडातर्फ सिमभञ्ज्याङ चौकीबाट साँझ ७ बजेदेखि राति ११ बजेसम्म सवारी सञ्चालन हुनेछ।

शनिबार हेटौँडाबाट काठमाडौँतर्फ बिहान ४ बजेदेखि ८ बजेसम्म तथा राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म सवारी सञ्चालन गरिनेछ। काठमाडौँबाट हेटौँडातर्फ भने शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म सवारी सञ्चालन हुने प्रशासनले जनाएको छ।

अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा ठूला र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाइएको छ। यात्रुवाहक बसको हकमा ११ मिटर लम्बाइसम्मका बस मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।

प्रशासनले चालक, यातायात व्यवसायी तथा यात्रुलाई तोकिएको समयतालिकाअनुसार मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित: शुक्रबार, आश्विन ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय