बुधबार, कार्तिक १२, २०८३
भारी वर्षाको जोखिमपछि बीपी राजमार्गमा चार दिन राति सवारी आवागमन बन्द

काभ्रे । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा असोज ८ गतेदेखि १२ गते बिहान ५ बजेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको बैठकले जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका छन्। वर्षा तथा बाढीको अवस्था हेरेर आवश्यक परे दिनको समयमा समेत सवारी आवागमन रोक्न जिल्ला प्रहरी कार्यालयले निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ।

यसैबीच, नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीमा पूर्वसूचना प्रभावकारी बनाउन, उद्धार टोलीलाई तयारी अवस्थामा राख्न तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी उद्धार व्यवस्थापन चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित: बिहिबार, आश्विन ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय