
काठमाडौँ । प्रतिनिधिसभाले ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सर्वसम्मतिले सैद्धान्तिक स्वीकृति दिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा सांसदहरूले विदेशी डिजिटल भुक्तानीबाट नेपाललाई हुने लाभ, कारोबारको सुरक्षा तथा प्रणालीगत तरलतालगायत विषयमा चासो राखेका थिए।
जवाफमा मन्त्री वाग्लेले सांसदहरूबाट प्राप्त सुझावलाई स्वीकार गर्दै सम्बन्धित समितिमा दफावार छलफलका क्रममा थप विचार गरिने बताए। उनले विद्यमान संरचनाबाट सम्बोधन हुन नसकेका विषयलाई समेट्दै अर्थतन्त्र सुधारका लागि विधेयक ल्याइएको जानकारी दिए।
सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सदस्यहरूलाई जानकारी गराएका छन्। साथै, प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका गएकाले अर्थमन्त्री वाग्लेलाई दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी तोकिएको पत्र बैठकमा पढेर सुनाइएको छ।

