
काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षासहित मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले प्रदेश सरकारले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै नागरिक तथा सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको हो।
नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र, भिरालो भूभाग र डुबान हुनसक्ने स्थानमा रहेका नागरिकले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ। जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न भनिएको छ।
अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नैपरे मौसम तथा सडकको अवस्था बुझेर मात्र अघि बढ्न मन्त्रालयले आग्रह गरेको छ।
साथै नेपाल मौसम विज्ञान विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वसूचना नियमित हेर्न र अफवाहमा विश्वास नगर्न मन्त्रालयले प्रदेशवासीलाई अनुरोध गरेको छ।

