
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक समस्या देखिएपछि आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ।
नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म समाधान हुन नसकेपछि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।
डाटा सेन्टरको प्राविधिक समस्या यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था देखिएकाले कारोबार रोकिएको हो।
यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो। सोही आधारमा धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१०) बमोजिम असोज ५ गतेको नियमित कारोबार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ।

