मंगलबार, आश्विन ०६, २०८३
रास्वपाले स्थगित पार्टी गतिविधि पुनः सञ्चालन गर्ने, डीएनए परीक्षण छिटो गर्न सरकारलाई आग्रह

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले भोटेकोशी विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको सहभागिता र मधेश प्रदेशको संगठनात्मक अवस्थालगायत विषयमा छलफल गरी विभिन्न निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। यस्तै, लामो समयदेखि बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिका हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन आग्रह गरिएको छ।

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन जाने प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको टोलीलाई नेपालको विपद्, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकालगायत विषयमा केन्द्रित भएर धारणा प्रस्तुत गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिने निर्णयसमेत बैठकले गरेको खरेलले बताए।

प्रकाशित: आइतबार, आश्विन ०४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय