
काठमाडौँ । बाढी प्रभावित रसुवा र नुवाकोटमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप (ओसिभी) अभियान तीव्र पारिएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार हालसम्म रसुवा र नुवाकोटका ५९ हजार ७३२ जनाले ओसिभी खोप पाएका छन्। रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनालाई खोप लगाइएको हो।
रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका तथा नुवाकोटका बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वरमा खोप अभियान सञ्चालन भइरहेको छ।
यस्तै, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइतेलाई टिटानस–डिफ्थेरिया (टीडी) खोपसमेत लगाइएको छ। बाढीपछि देखिएका शङ्कास्पद दादुराका आठ नमुनामध्ये सातको परीक्षण नेगेटिभ आएको र एउटा नतिजा आउन बाँकी रहेको महाशाखाले जनाएको छ।
धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा पनि ओसिभी खोप अभियान सञ्चालनको तयारी भइरहेको छ।

