
काठमाडाैं । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले मुलुकका समसामयिक तथा जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद पूजा चौधरी र रुक्मिणी कोइरालाले बलात्कार तथा हत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरे। चौधरीले तीन वर्षीया बालिकाको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् भने कोइरालाले महिला हिंसा र बलात्कारका घटना दोहोरिरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइन्।
सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोडप्रति असन्तुष्टि जनाउँदै घटनाको उच्चस्तरीय छानबिन र दोषीमाथि कारबाही गर्न माग गरे।
यस्तै, सांसद कृष्णप्रसाद अधिकारीले सडक, पुल तथा पूर्वाधारको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै रसुवाका प्रभावित क्षेत्रमा सडक सञ्चालनसँगै खाद्यान्न, औषधि लगायत अत्यावश्यक सामग्रीको सहज आपूर्ति व्यवस्था मिलाउन आग्रह गरे।

