
पोखरा । गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म २ हजार ३११ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। मनाङमा भने यस वर्ष हालसम्म डेङ्गु सङ्क्रमण देखिएको छैन।
प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर बढेको छ। गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकामा साउनमा यो संख्या बढेर १ हजार २४७ पुगेको थियो। भदौ लागेयता ३८२ जनामा सङ्क्रमण देखिएको छ।
सेप्टेम्बर ७ देखि १३ सम्म एक सातामा मात्रै २२८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रले जनाएको छ। तीमध्ये बागलुङमा १७०, कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जामा चार, तनहुँमा तीन र लमजुङमा दुई जना रहेका छन्।
स्वास्थ्यकर्मीहरूले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिन तथा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न नदिन आग्रह गरेका छन्। डेङ्गु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेले सफा पानीमा प्रजनन गर्ने भएकाले पानी जम्ने भाँडाकुँडा, पुराना टायर तथा खाल्डाखुल्डी सफा गर्न सुझाव दिइएको छ।

