
काठमाडौं । Lincoln University College Associates of Nepal (LUCAN) को आयोजना तथा NCMT College को होस्टिङमा सम्पन्न LUCAN Cup 2026 फुटसल प्रतियोगितामा पुरुष र महिला दुवैतर्फको उपाधि NCMT College ले जितेको छ।
NCMT College को फुटसल मैदानमा भदौ २५ र २६ गते सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ ८ टोली तथा महिलातर्फ ३ टोलीको सहभागिता रहेको थियो।
पुरुषतर्फको फाइनलमा NCMT College (A) ले KFA College (B) लाई ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै NCMT College (A) ले घरेलु मैदानमै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। KFA College (B) उपविजेतामा सीमित भयो।
यसअघि पहिलो सेमिफाइनलमा NCMT College (A) र KFA College (A) बीचको खेल निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट NCMT College (A) विजयी हुँदै फाइनल पुगेको थियो। दोस्रो सेमिफाइनलमा KFA College (B) ले Phoenix College (A) लाई ३–१ गोलले पराजित गरेको थियो।
तेस्रो स्थानका लागि भएको खेलमा KFA College (A) ले Phoenix College (A) लाई ३–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।
पुरुषतर्फ विजेता NCMT College (A) ले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित रु. ३० हजार, उपविजेता KFA College (B) ले रु. २० हजार र तेस्रो स्थानको KFA College (A) ले रु. १० हजार पुरस्कार प्राप्त गरे।
महिलातर्फ भने सहभागी तीन टोलीबीच लिग प्रणालीमा प्रतिस्पर्धा गराउने तयारी गरिएको भए पनि अन्य कलेजका टोलीहरू सहभागी हुन नआएपछि NCMT College लाई विजेता घोषित गरिएको हो। महिलातर्फ विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित रु. २० हजार प्राप्त गरेको छ। दोस्रो पुरस्कारका लागि रु. १० हजार छुट्याइएको भए पनि उपविजेता टोली घोषणा गरिएको छैन।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ Highest Goal Scorer को उपाधि KFA College (A) का Saurabh Chaulagain, Best Goalkeeper NCMT College (A) का Krishan Sapkota र Best Player NCMT College (A) का Aayush Pandey घोषित भए।
LUCAN Cup 2026 ले विभिन्न कलेजका विद्यार्थीलाई खेलकुदमार्फत एउटै मञ्चमा जोड्दै टिमवर्क, अनुशासन, प्रतिस्पर्धात्मक भावना र खेल भावना विकासमा योगदान पुर्याएको आयोजकले जनाएको छ।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहभागी टोली तथा खेलाडी, रेफ्री, स्वयंसेवक, NCMT College व्यवस्थापन, नेपाल प्रहरी, MN Hospital, मेडिकल टिम, एम्बुलेन्स सेवा तथा अन्य सहयोगी व्यक्ति र संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ।

