
काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोगस्वरूप भारतले बुधबार थप ३५ टन राहत सामग्री तथा उद्धार उपकरण पठाएको छ।
भारतीय अधिकारीहरूका अनुसार भारतीय वायुसेनाको सी–१७ ट्रान्सपोर्ट विमानमार्फत उक्त मानवीय सहायता नेपाल पठाइएको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार राहत सामग्रीमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का उपकरण, उद्धार सामग्री, फरेन्सिक सामग्री तथा सुरक्षाकर्मीका लागि आवश्यक बन्दोबस्तीका सामान समावेश छन्।
बाढी आएको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच टेलिफोन वार्ता भएको केही घण्टामै भारतले पहिलो चरणको राहत सामग्री नेपाल पठाएको थियो। त्यसयता भारतले निरन्तर राहत तथा अत्यावश्यक औषधि उपलब्ध गराउँदै आएको छ।
भारतले नेपाली सेनासँग सहकार्य गर्न सुरुङ उद्धार टोली तथा मृतकको पहिचानमा सहयोग पुर्याउन फरेन्सिक टोलीसमेत नेपाल पठाएको छ। यसअघि सेप्टेम्बर ३ को राति दुई सैन्य विमानमार्फत २१ टनभन्दा बढी राहत सामग्रीसहित छैटौँ र सातौँ खेप नेपाल पठाइएको थियो।
यसैबीच, प्रभावित क्षेत्रमा थप शव फेला परेसँगै बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ५८९ विदेशी नागरिकसहित ५,३२६ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
हालसम्म चितवनबाट ३६३, नवलपरासी पूर्वबाट २२६, नवलपरासी पश्चिमबाट २२२ र नुवाकोटबाट १९७ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ।

