
काठमाडौँ । सिराहाको औरही गाउँपालिका–४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १ क्विन्टल ५७ किलो २०७ ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाबाट खटिएको गस्ती टोलीले गएराति १ः३५ बजे उक्त गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार केही व्यक्तिहरूले गाँजा टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरेका थिए। गस्ती टोलीलाई देखेपछि उनीहरू गाँजा छाडेर फरार भएका थिए।
बरामद गाँजा आठ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको थियो। ती पोका प्लास्टिकमा प्याक गरी कपडाले बाँधिएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषध आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

