
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास आपूर्ति, चिनीको मूल्यवृद्धि, कालोबजारी तथा बजार अनुगमनबारे सरकारसँग छलफल भएको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपाल आयल निगमले आफ्नै ग्यास उद्योग स्थापना गर्नुपर्ने बताइन्।
मन्त्री कुमारीले नेपालमा ५८ वटा ग्यास उद्योग भए पनि कुनै पनि निगमको मातहतमा नरहेको जानकारी दिँदै उद्योगीहरूले मागअनुसार ग्यास उपलब्ध नगराएको गुनासो गरिन्। आपूर्ति व्यवस्थापनमा प्रभावकारी समन्वयका लागि समितिबाट आवश्यक निर्देशन दिन उनले आग्रह गरिन्।
उनले नेपाललाई अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको बताउँदै तेल, ग्यास, कपडा, खाद्यान्न र चिनीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्।
उद्योग स्थापना गर्न सहज वातावरण बनाउन कच्चा पदार्थ आयातमा भन्सारसम्बन्धी व्यवस्था सुधार गर्नुपर्ने बताउँदै उनले स्वदेशमा उत्पादन गर्दा तयारी वस्तु आयातभन्दा महँगो पर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिइन्।
चाडपर्वलाई लक्षित गरी बजार अनुगमन बढाइएको र कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रणमा कारबाही भइरहेको उनले जानकारी दिइन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ४४ जिल्लाका १९३ स्थानबाट नेपाल फुड्स ब्रान्डका खाद्यान्न प्रतिकिलो पाँच रुपैयाँ छुटमा बिक्री गर्ने व्यवस्था गरिएको पनि उनले बताइन्।
चिनीको आपूर्ति सहज बनाउन २५ हजार मेट्रिक टन आयात गर्न स्वीकृति प्राप्त भएको उल्लेख गर्दै मन्त्री कुमारीले सरकारी कम्पनीबाट १०५ देखि १०९ रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको जानकारी दिइन्।
समिति सभापति रहबर अन्सारीले चिनीको मूल्यवृद्धिबारे प्रश्न उठाउँदै समयमै पर्याप्त आयात गर्न नसक्दा समस्या आएको बताइन्। उनले कार्टेलिङ, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रणका लागि पर्याप्त कानुन नभए नयाँ कानुन बनाउन तथा आवश्यक कानुन संशोधन गर्न मन्त्रालयलाई आग्रह गरिन्।

