
काठमाडौँ । प्रतिनिधिसभामा नेपाल कानुन आयोगको विद्यमान ऐन संशोधन गर्ने विधेयक प्रस्तुत गरिएको छ। ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आजको बैठकमा प्रस्तुत गरेकी हुन्।
विधेयक प्रस्तुत गर्नुअघि मन्त्री गौतमले सदनबाट अनुमति माग्ने प्रस्ताव पेस गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएपछि विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।
मन्त्री गौतमले विधेयक प्रस्तुत गर्दै नेपाल कानुन आयोगलाई कानुन तर्जुमा तथा कानुनसम्बन्धी अध्ययन–अनुसन्धानको क्षेत्रमा उत्कृष्ट निकायका रूपमा विकास गर्न आवश्यक कानुनी आधार निर्माण गर्नुपर्ने बताइन्।
विद्यमान कानुन आयोगको संरचना र कार्यक्षेत्रमा आवश्यक परिमार्जन गरी आयोगको समग्र कार्यसम्पादन सुधार गर्न ऐन संशोधन गर्न विधेयक ल्याइएको उनको भनाइ थियो।
यसअघि सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए।

