बिहिबार, भाद्र २५, २०८३
विपद्लाई राजनीतिकरण नगरौँ, जलवायु न्यायका लागि साझा आवाज उठाऔँ : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक पक्षधरता छाडेर राष्ट्रिय एकता र मानवीयताको भावनासहित अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले भोटेकोशी विपत्तिले सबैलाई एक ठाउँमा उभ्याएको उल्लेख गर्दै यस्तो एकतालाई भविष्य निर्माणको आधार बनाउनुपर्ने बताए।

उनले सरकार उद्धार तथा खोजी कार्यमा निरन्तर सक्रिय रहेको बताए पनि आफ्ना प्रियजन गुमाएका नागरिकबाट राज्यप्रति गुनासो र आक्रोश आउनु स्वाभाविक भएको धारणा राखे। पीडितको भावनालाई सामाजिक सञ्जालमा थप चोट पुर्‍याउने किसिमका टिप्पणी नगर्न उनले चेतावनी दिए।

रास्वपाका कुनै कार्यकर्ता त्यस्ता गतिविधिमा संलग्न भए कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकारले पनि कानुनअनुसार आवश्यक कदम चाल्नुपर्ने बताए।

विपद् व्यवस्थापनमा प्रतिपक्षले दिने रचनात्मक सुझावलाई सरकारले स्वीकार गर्नुपर्ने र विपद्को संवेदनशील अवस्थालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने उनले बताए।

जलवायु संकटबाट प्रभावित नागरिकहरू स्वयं संकटका कारक नभएको उल्लेख गर्दै लामिछानेले नेपालले विश्व समुदायसँग जलवायु न्यायको माग गर्न साहसका साथ साझा आवाज उठाउनुपर्ने बताए। उनले उद्धारकर्मी, सुरक्षाकर्मी, मित्रराष्ट्र, निजी क्षेत्र, सञ्चारमाध्यम तथा गैरआवासीय नेपाली समुदायको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरे।

प्रकाशित: बुधबार, भाद्र २४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय