
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास नगर्न पुराना राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्।
जेनजी सहिद दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आन्दोलनको सम्मान गर्न र विगतबाट पाठ सिक्न पुराना दलका नेताहरूलाई आग्रह गरे।
गुरुङले जेनजी आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीको अपमान गर्नुजस्तै भएको बताए। “सुध्रिनुस्, अझै समय छ,” भन्दै उनले पुराना दलहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरे।
उनले जेनजी पुस्ता कुनै सत्ता वा शक्तिको आकांक्षाले नभई सुशासनको पक्षमा एकताबद्ध भएको दाबी गर्दै शान्तिपूर्ण आन्दोलनमाथि भएको दमन र गोली प्रहारको प्रसंगसमेत उठाए।

