
काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाने तयारीमा छन्।
नेकपाको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा विपद्का बेला पार्टी नेतृत्वले प्रभावित क्षेत्रमै पुगेर पीडितको अवस्था बुझ्नुपर्ने सुझाव आएपछि प्रचण्ड र नेपाल जाने तयारी भएको हो।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि नेकपाले आकस्मिक बैठक गरी खोज, उद्धार र राहत कार्यमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरेको थियो।
पार्टीले बागमती प्रदेश इन्चार्ज डा. गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज तथा उद्धार समन्वय समिति गठन गरेको थियो। बाढी आएको दिन नै वर्षमान पुन, नन्दकिशोर पुन ‘पासाङ’लगायत नेता नुवाकोट पुगेका थिए भने भदौ ११ गते सरल सहयात्री पौडेल र गङ्गानारायण श्रेष्ठलगायत नेताहरू पनि प्रभावित क्षेत्रमा पुगेका थिए।
नेता गङ्गाले प्रभावित क्षेत्रमा पुगेर त्यहाँको वास्तविक अवस्था, पीडितका गुनासा तथा तत्कालीन आवश्यकताबारे जानकारी लिइएको बताए। अन्य दलका शीर्ष नेताहरू तथा सरकारका प्रतिनिधिहरू प्रभावित क्षेत्रमा पुगिसकेकाले नेकपाको नेतृत्व पनि फिल्डमा देखिनुपर्ने सुझाव आएको उनको भनाइ छ।
सोही आधारमा प्रचण्ड र नेपालले भोटेकोशी बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने तयारी गरेका हुन्।

