
काठमाडौँ । धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा ग्यास अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति तीव्र पारिएको छ।
नेपाल आयल निगमका अनुसार पछिल्ला तीन दिनमा ८७ हजार ८७७ वटा एलपी ग्यास सिलिण्डर उपत्यकामा भित्र्याइएको छ। १८ वटा कम्पनीले तराईका विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक सडकमार्फत काठमाडौं पठाएका हुन्।
भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिण्डर काठमाडौं आइपुगेका छन्।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट र इन्धन ट्याङ्कर बाटोमै रोकिएका थिए। त्यसपछि निगमले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्थापन गर्दै आएको हो। ग्यास आपूर्ति थप सहज बनाउन सार्वजनिक बिदाका दिनसमेत रिफिलिङ र ढुवानी नरोक्न उद्योगहरूलाई निर्देशन दिइएको छ।

