
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ। चार हजार ४४ जना भने अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा पहिचान गर्न नसकिने अवस्थामा छन्।
सम्पर्कविहीन हुनेमा स्वदेशी पुरुष दुई हजार ८६३, महिला ५७५, विदेशी पुरुष २६९, विदेशी महिला ३३२ र अन्य पाँच जना छन्।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ भने तीन हजार ९८ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।
फेला परेका शवमध्ये एक हजार ३७ वटाको सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। शव पहिचान तथा बेपत्ताको खोजीका लागि मृतक र आफन्त गरी दुई हजार ४७२ जनाको डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित सरकारी निकाय खोजी, उद्धार तथा शव व्यवस्थापनमा निरन्तर परिचालित छन्।

