
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार अन्त्यका लागि सरकारका तीनै तह, गैरसरकारी संस्था, विकास साझेदार तथा अन्य सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मानव बेचबिखनलाई मानवसभ्यताकै कलङ्कका रूपमा चित्रण गरेका छन्।
प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारका नयाँ प्रवृत्ति र स्वरूप विकसित भइरहेकाले यसको रोकथाममा प्रविधिको सदुपयोग र नागरिक सचेतना बढाउनुपर्ने बताए।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नीतिगत तथा संस्थागत सुधारलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुन संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनले मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै पक्षबाट निरन्तर साथ, सहयोग, समन्वय र ऐक्यबद्धताको आग्रह गरेका छन्।

