
काठमाडौं । हालै देशका विभिन्न जिल्लामा आएको फ्ल्यास फ्लडबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्लु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायतका जिल्लामा बाढीका कारण प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले ग्रुपले उक्त रकम योगदान गरेको जनाएको छ।
एमएडब्लु ग्रुपले नेपाल पुनःस्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहेका बेला नेपाली जनतासँग ऐक्यबद्धता जनाउन यो सहयोग गरेको हो। प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा गरिएको योगदानले कठिन परिस्थितिमा रहेका परिवारलाई केही राहत पुग्ने ग्रुपको विश्वास छ।
अध्यक्ष विष्णुकुमार अग्रवालले विपद् र संकटका हरेक कठिन समयमा एमएडब्लु ग्रुपले नेपाली नागरिकको साथमा उभिँदै आएको बताए। उनका अनुसार प्रभावित परिवारको पीडा कुनै योगदानले मेटाउन नसके पनि कठिन समय पार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

