
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति चीनका राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गरेका छन्।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले दुई चिनियाँ नेताको सन्देश नेपाल सरकारलाई सुनाएका हुन्। बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूले विपत्तिको समयमा नेपाललाई चीनको निरन्तर साथ रहने बताएका छन्।
राजदूत झाङले नेपालमा उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि चीन सरकारको सहयोग आगामी दिनमा पनि जारी रहने बताए।
सोही अवसरमा चीन सरकारले प्रधानमन्त्री राहत कोषका लागि २० लाख अमेरिकी डलर र चिनियाँ रेडक्रसले २ लाख अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण गरेको छ।

