बुधबार, कार्तिक १२, २०८३
बाढी प्रभावित होटल व्यवसायीको अवस्था बुझ्न नुवाकोट पुगेको महासंघको टोली

नुवाकोट । होटल व्यवसायी महासंघ नेपालका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको टोली बाढीबाट प्रभावित होटल तथा व्यवसायीहरूको अवस्था बुझ्न नुवाकोट पुगेको छ।

महासंघका अध्यक्ष टी. आर. भण्डारी (शंकर) सहितको टोलीमा बागमती प्रदेशका अध्यक्ष, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका पदाधिकारी तथा महासंघमा आबद्ध काठमाडौंस्थित विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए।

नुवाकोट पुगेको टोलीले महासंघका वरिष्ठ अध्यक्ष, कार्यसमिति सदस्य तथा स्थानीय आबद्ध संस्थाका पदाधिकारीहरूसँग भेटघाट गरी हालै आएको बाढीबाट प्रभावित होटल तथा व्यवसायीहरूको अवस्था, भौतिक क्षति र तत्काल आवश्यक सहयोगबारे प्रत्यक्ष जानकारी लिएको जनाएको छ।

टोलीले नुवाकोटमा मात्र सीमित नरही माथिल्लो क्षेत्रमा रहेको रसुवा तथा तल्लो क्षेत्रमा रहेको धादिङका प्रभावित व्यवसायी तथा स्थानीयको अवस्थाबारे समेत आवश्यक जानकारी र पछिल्लो अवस्थाका बारेमा अपडेट लिएको थियो।

चार दिनअघि आएको बाढीले पुर्‍याएको क्षति स्थलगत रूपमा अवलोकन गर्दा अवस्था सञ्चारमाध्यमबाट देखे–सुनेभन्दा पनि भयावह, अकल्पनीय र हृदयविदारक रहेको अध्यक्ष भण्डारीले बताएका छन्। बाढीका कारण धेरै व्यवसायीको व्यवसाय, रोजगारी र जीविकोपार्जनको आधार नै तहसनहस भएको उनले बताए।

यद्यपि, विपत्तिले ठूलो क्षति पुर्‍याए पनि प्रभावित व्यवसायीहरूको हिम्मत, व्यावसायिक चेतना र पुनः उठ्ने संकल्प भने कमजोर नभएको अध्यक्ष भण्डारीको भनाइ छ।

“विपत्तिले सबै कुरा बगाए पनि बाँचेका व्यवसायीहरूको हिम्मत, व्यावसायिक चेतना र पुनः उठ्ने संकल्प बगाउन सकेको रहेनछ,” उनले भने, “यही आशालाई आधार बनाएर अब उहाँहरूको दुःखमा साथ मात्र होइन, व्यवसाय पुनर्स्थापना र पुनर्निर्माणमा पनि हातेमालो गर्नुपर्छ।”

होटल व्यवसाय केवल एउटा व्यवसाय मात्र नभई स्थानीय किसान, श्रमिक, पर्यटन, यातायात, साना व्यवसायी तथा समग्र स्थानीय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको महासंघले जनाएको छ। प्रभावित होटल व्यवसायीलाई पुनः स्थापित गर्नु एउटा व्यवसाय जोगाउने विषय मात्र नभई समग्र स्थानीय अर्थतन्त्रलाई पुनः चलायमान बनाउने महत्वपूर्ण प्रयास हुने महासंघको निष्कर्ष छ।

स्थलगत अवलोकनले महासंघको जिम्मेवारी अझ गहिरो बनाएको उल्लेख गर्दै अध्यक्ष भण्डारीले अब होटल व्यवसायी महासंघ नेपाल, देशभरका आबद्ध होटल व्यवसायी संघ–संस्था तथा महासंघको सम्पूर्ण कार्यसमिति एकताबद्ध भएर प्रभावित व्यवसायीहरूको पुनर्स्थापना र पुनर्निर्माणका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

महासंघले विपद्बाट प्रभावित व्यवसायीहरूको वास्तविक क्षतिको विवरण संकलन, तत्काल आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ।

प्रकाशित: आइतबार, भाद्र १४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय