
काठमाडौँ । रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमण रद्द गरेका छन्।
मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन खनालको नेतृत्वमा तीन सदस्यीय टोली आइतबार सर्बिया जाने कार्यक्रम थियो।
देशमा विपद्को अवस्था सिर्जना भएपछि मन्त्री खनालले भ्रमण रद्द गरेसँगै अब नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घ संस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ।
सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते उच्चस्तरीय स्मरण सभा आयोजना हुने कार्यक्रम रहेको छ।

