
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध काठमाडौँ–मुग्लिन सडकखण्डमा आजदेखि यातायात सञ्चालनमा आएको छ। बाढीले सडकमा थुपारेको लेदो, माटो तथा फोहर हटाएपछि राजमार्ग नियमित रूपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा रोकिएका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको बताए।
बाढीका कारण सडकमा बाक्लो लेदो जम्दा सवारीसाधन सञ्चालनमा समस्या भएको थियो। सफाइपछि यातायात सहज भएको प्रहरीले जनाएको छ।
यद्यपि, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्ड अझै एकतर्फी रूपमा सञ्चालनमा छ। बाढी तथा पहिरोबाट प्रभावित अन्य सडक खुलाउने कार्यलाई पनि तीव्रता दिइएको प्रहरीले जनाएको छ।

