
काठमाडौं । भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीपछि नुवाकोटमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहानसम्म बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्।
फेला परेका ५१ वटै शवको सनाखत हुन बाँकी रहेको प्रशासनले जनाएको छ। बाढीमा ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट प्राप्त सूचनाका आधारमा कायम गरिएको हो।
बाढीबाट विदुर, बेलकोटगढी, तारकेश्वर र किस्पाङका विभिन्न क्षेत्र बढी प्रभावित भएका छन्। करिब ७०० देखि ८०० निजी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
सडक तथा पुल संरचनामा समेत व्यापक क्षति भएको छ। १५ पक्की पुल र नौ झोलुङ्गे पुलमा क्षति पुगेको छ भने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध छ। आठ सरकारी कार्यालय, कृषि विकास बैंक, तीन जलविद्युत् गृह र चार विद्यालयमा पनि क्षति पुगेको प्रशासनले जनाएको छ।
बाढीले केन्द्रीय कारागार नुवाकोटको संरचनामा क्षति पुर्याए पनि कैदीबन्दी सुरक्षित रहेका छन्।
हालसम्म हेलिकप्टरमार्फत १ हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरी कुल १ हजार ९०८ जनालाई सुरक्षित स्थानमा ल्याइएको छ। त्यस्तै, ७९१ जना प्रभावितलाई विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको छ।
बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। राहत, उद्धार, उपचार र आश्रय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ।

