
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर धादिङ पुगेको सेफ फुटाएर नगद निकालेर चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार भदौ १० गतेको बाढीले नगद राखिएको सेफ बगाएर धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा पुर्याएको थियो। सेफ फेला परेपछि स्थानीयले त्यसलाई तोडफोड गरी नगद निकालेर लगेका थिए।
घटनाबारे शुक्रबार सूचना पाएपछि प्रहरीले तत्काल टोली परिचालन गरी अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

