
काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले विपद्बाट प्रभावित नागरिक तथा व्यवसायीलाई राहत र मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले ‘HPFN विपद् राहत अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
महासंघका अध्यक्ष टी. आर. भण्डारी (शंकर) को अध्यक्षतामा केन्द्रीय कार्यालय कलंकीमा बसेको आकस्मिक बैठकले विपद्बाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा राहत, उद्धार र मानवीय सहयोगको आवश्यकताबारे छलफल गर्दै अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले राहत तथा सहयोगका लागि ‘HPFN विपद् राहत कोष’ स्थापना गर्ने निर्णयसमेत गरेको छ। महासंघले आफूसँग आबद्ध सम्पूर्ण होटल व्यवसायी, संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार राहत कोषमा सहयोग गर्न आह्वान गरेको छ।
प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरिने
महासंघले प्रभावित क्षेत्रमा प्रतिनिधि परिचालन गरी वास्तविक अवस्था, आवश्यकताको पहिचान, तथ्यांक तथा डाटा संकलन गर्ने जनाएको छ।
प्राप्त विवरणका आधारमा राहत वितरणको प्राथमिकता निर्धारण गरी आवश्यक सामग्री तथा आर्थिक सहयोग प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। यसका लागि स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरिने महासंघले जनाएको छ।
राहत कोषको रकम र सामग्रीमा पारदर्शिता
महासंघले राहत अभियानमार्फत प्राप्त हुने नगद तथा जिन्सी सहयोग, खर्च र वितरण प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएको छ।
संकलित रकम तथा राहत सामग्रीको व्यवस्थित अभिलेख राखिने र खर्च तथा वितरणसम्बन्धी विवरण सार्वजनिक प्रतिवेदनमार्फत जानकारी गराइने महासंघले जनाएको छ।
सहयोग गर्नेलाई सम्मान गरिने
राहत अभियानमा रु. १० हजारभन्दा माथि आर्थिक सहयोग गर्ने कार्यसमिति सदस्य, महासंघमा आबद्ध व्यवसायी तथा सहयोगी व्यक्तित्वलाई आधिकारिक डिजिटल पोस्टर तथा सामाजिक सञ्जालमार्फत धन्यवाद तथा सम्मान गर्ने निर्णयसमेत बैठकले गरेको छ।
महासंघले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिक तथा व्यवसायीको साथमा दृढतापूर्वक उभिने जनाएको छ।
राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा व्यवसायी समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै HPFN ले सबै होटल व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकलाई ‘HPFN विपद् राहत अभियान’मा जोडिन आग्रह गरेको छ।

